हनुमन्तेश्वरको ५० वर्षे यात्रा

 


गोपालध्वज श्रेष्ठ

पुर्व प्रानाध्यापक

दोलखा जिल्लाको पूर्वमध्य भागको सानो तर भौगोलिक दृष्टिकोणले मिलेको काब्रे गाविस छिमेकी गाविसहरू क्षत्रपा, नाम्दू, गैरीमुदी, जंग, मिर्गे, जिरी र ठूलोपातलको केन्द्रमा अवस्थित छ। यही गा. वि. स. का. वाड नं ४ मा अवस्थित यो विद्यालयको नाम महादेवको नामबाट श्री हनुमन्तेश्वर उच्च मा. वि. राखिएको हो । विद्यालयले गाविसको वाड नं ५, ७, ८ र ३ लाई छोएको छ। यो विद्यालय अरनिको राजमार्गको लामोसाँग जिरी खण्डको मैनापोखरी बस स्टेशनबाट ५०० मिटर पर्वमा कृषि सडकले जोडेको ३२ रोपनी जग्गामा फैलिएको छ। विद्यालयको वरिपरि सल्ला जातको रुखले घेरिएको छ । जसले विद्यालयको वातावरणलाई स्वच्छ र सफा राखेको छ । यस गा. वि. स. मा करीव १११० घरधुरीमा ५८०० मानिसहरू विशेष गरी क्षत्री, बाहुन, सार्की, कामी, दमाई, भुजेल, जिरेल, शेर्पा र तमाङ्ग वसोवास गरिरहेका छन् । कुल जनसंख्याको ६० प्रतिशत मानिस साक्षर भएता पनि महिला साक्षरता ४० प्रतिशत मात्र रहेको छ । तथापि शिक्षाको क्षेत्रमा जिल्लाका अन्य गा. वि. स. भन्दा अगाडि रहेको छ। यो विद्यालयमा नै जिल्ला शिक्षा कार्यालय अन्तरगतको स्रोत केन्द्र रहेको छ ।

विद्यालयको अभिलेखअनुसार विद्यालय स्थापनार्थ तत्कालीन प्रतिकूल अवस्थासँग पौठेजोरी खेल्दै सम्मुन्नत समाजको परिकल्पनासहित स्व. नेत्रपाणि ढुङ्गेल काब्रे- ६, स्व. श्री दधिराम उप्रेती, काब्रे- ४, स्व. श्री गौरीकान्त दहाल काब्रे ६, स्व. श्री छविलाल दहाल, काब्रे - ७र श्री पदमबहादुर खड्‌का काब्रे - ४ का पहलमा काब्रे - ६ को बगरमा वि. सं. २०१६ सालमा स्थापना गरेको पाइन्छ । २०२० सालमा गाउँको केन्द्रमा सोही विद्यालय काब्रे - ४, ज्यामिरे। हालको स्थानमा। श्री छविलाल दहाल, श्री रामप्रसाद दहाल, श्री रंगलाल लामिछाने र श्री पदमबहादुर खड्‌काको सक्रियतामा स्थानान्तर भएको पाइन्छ । विद्यालयलाई निःशुल्क जग्गा प्रदान गरी थप सहयोग गर्नेमा श्री गोपीकृष्ण घिमिरे, श्री बाबुराम दहाल, श्री तुलसीप्रसाद घिमिरे, श्री कृष्णप्रसाद लामिछाने, श्री धनप्रसाद लामिछाने र श्री हरिप्रसाद दहाल भएको पाइन्छ । १७ वर्षपछि हालको स्थानमा सबै वडा वासिन्दालाई पायक पर्ने स्थानमा स्थानान्तरण गरी वि. सं २०३३ मा निम्नमाध्यमिक, २०४१ मा माध्यमिक र २०५३ मा उच्चमाध्यमिक तहको कक्षा सञ्चालन हुँदै आएका छन् । २०६२ बाट विद्यालय परिसरभित्रै बालकक्षा सञ्चालित हुँदै आएको छ। यसरी हाल विद्यालयको परिसरभित्र बालकक्षादेखि कक्षा १२ सम्म र बिहानी समयमा त्रि.वि. बाट स्वीकृति लिई शिक्षा शास्त्र संकायको स्नातक तहसम्मको अध्ययन, अध्यापन कार्य २०५८ बाट हुँदै आएको छ। शैक्षिक वर्ष २०६६/०६७ बाट बेलुका ४ बजे पश्चात् गृहिणी कक्षा सञ्चालित छ। संस्थापकहरूको उद्देश्यलाई सफलीभूत पार्न विद्यालय अग्रगमनको बाटोमा अघि बढिरहेको छ ।


विद्यालयको भौतिक पूर्वाधार तयार पार्ने क्रममा गा.वि.स. को कार्यालय काब्रे, जिल्ला विकास समितिको कार्यालय दोलखा, जिल्ला शिक्षा कार्यालय, दोलखा, उच्च माध्यमिक शिक्षा परिषद्, भक्तपुर र शिक्षा विभाग सानोठिमी, भक्तपुरको योगदान उल्लेख्य रहेको छ। विद्यालयको शैक्षिकस्तरमा अभिवृद्धि गर्नको लागि स्थानीय संस्थाहरूमा जनसचेतन बचत तथा ऋण सहकारी संस्था, काब्रे - ६, जनमुखी बचत तथा ऋण सहकारी संस्था, काब्रे ७, भविष्य महिला तथा बचत ऋण सहकारी संस्था, काब्रे ६, हनुमन्तेश्वर पूर्वविद्यार्थी समाज र गा. वि. स. काब्रेको निरन्तररूपमा सहयोग प्राप्त भइरहेको छ । नीति र नियम, मूल्य र मान्यतालाई पालना गर्दै पारस्परिक सहयोग र सद्भाव, सामुहिक निर्णयको परिपाटीलाई आत्मसात गर्नुपर्छ भनी वाटो देखाउने अग्रज गुरुहरू श्री यज्ञराज ढुङ्गेल र श्री पशुपति चौलागाईं तथा समाजसेवी श्री पुष्करकुमार दहाल हनुमन्तेश्वर उमाविका प्रेरणाको स्रोत भएका छन् ।


सम्पादित अंश
स्वर्णमहोत्सव स्मारिका २०६६ बाट साभार


Post a Comment

0 Comments