राष्ट्र निर्माणमा युवाको भूमिका

 



देश निर्माण भन्नाले देशको आर्थिक सामाजिक क्षेत्रमा हुने सकारात्मक परिवर्तन हो ।  राष्ट्र निर्माणका लागि विभिन्न प्रकारका जनशक्तिको विशेष महत्व रहेको हुन्छ। जसमध्ये राष्ट्र निर्माण र राष्ट्र विकासका निम्ति मुख्यतः युवा जनशक्तिको योगदान वा भूमिका हुन्छ।

युवा राष्ट्रका मेरुदण्ड हुन् । युवा राष्ट्रका एक सक्षम जनशक्ति हुन् जसले राष्ट्रको मुहार फेर्न सक्छन् ।  युवा राष्ट्रका गहना हुन् जसले राष्ट्रको स्वरूप निर्धारण गर्छन् ।  युवा भोलिको राष्ट्र कस्तो हुनुपर्छ र कस्तो बनाउनुपर्छ भन्ने कुराको परिकल्पनाकार हुन्, योजनाकार हुन् ।  युवा राष्ट्रको एक सक्षम र होनहार शक्ति हो। जसले राष्ट्रलाई प्रगतिका पथमा लम्काउन सक्छन् । नेपालको राष्ट्रिय युवा नीति २०७२ अनुसार युवा भन्नाले २६ वर्षदेखि ४० वर्ष उमेरसम्मका मानिसलाई भनिन्थ्यो भने पछिल्लो सरकारको राष्ट्रिय युवा नीति २०८२ अनुसार युवा भन्नाले १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका व्यक्ति हुन् भनी परिभाषित गरेको छ। संयुक्त राष्ट्र संघका अनुसार युवा भन्नाले १५ वर्षदेखि २९ वर्ष उमेरसम्मका मानिस भनी उल्लेख गरिएको छ ।

युवाले देशको मुहार फेर्न सक्छन् । युवा भनेको जोसिलो, आँटिलो र सक्षम जनशक्ति हुन् । देशको वर्तमान र भविष्य युवाकै हातमा हुन्छ । युवाहरु राष्ट्रको भविष्यवाणी हुन् । राष्ट्र निर्माणमा योगदान दिने युवामा अदम्य साहस,  क्षमता, लगनशीलता र परिकल्पना हुनुपर्छ । राष्ट्रियता, स्वाधीनता र राष्ट्रको अखण्डता एवं सार्वभौम सत्ता बुझेको हुनुपर्छ । युवा वर्गमा देशलाई माया गर्ने हुटहुटी, देशप्रेम, राष्ट्रप्रेम र देशभक्तिको भावना भएको हुनुपर्छ

युवाले देशको राजनीतिक, सामाजिक, शैक्षिक र आर्थिक क्षेत्रमा आफ्नो योगदान दिन सक्छन् । युवाले विभिन्न क्षेत्रमा निष्पक्ष र पारदर्शिता कायम गरी राष्ट्रलाई समृद्धिको घडीमा लम्काउन सक्छन् । युवामा रहेको साहस, आँट, क्षमता र सशक्त बललाई परिचालन गर्न सकेमा राष्ट्रलाई विकसित बनाउन सकिन्छ । विकासोन्मुख देशको सूचीमा परेको नेपाललाई विकसित देशको सूचीमा सूचीकृत गर्न युवाकै भूमिका महत्वपूर्ण रहन्छ । नेपालको विकास तथा राष्ट्र निर्माणमा युवाको भूमिका निम्नअनुसार छन्

युवाले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएका छन् । युवाले चालेका हरेक कदमले देशको अर्थतन्त्रमा टेवा पुगेको छ। पर्यटन प्रवर्धन, उद्योग सञ्चालन, कृषिमा आधुनिककरण, वातावरण र वनजङ्गल संरक्षण जस्ता कार्य उदाहरणीय बनेका छन् । युवाले देशमै स्वरोजगारी तथा स्वउत्पादनमा लाग्नुपर्छ । देशभित्र उपभोग्य वस्तु उत्पादन गरी त्यसको सफल निर्यात समेत गर्नुपर्छ । आयातित वस्तुलाई पूर्ण रुपमा नियन्त्रण गर्दै देशभित्र वस्तु उत्पादन, वस्तुको बजारीकरण र विविधिकरणमा लागेमा देशलाई कृषिप्रधान देशकै रूपमा विभूषित गर्न सकिन्छ। युवाको जोश, सिप र दक्षता देशको अर्थतन्त्रका लागि महत्वपूर्ण छ । वर्तमान समयमा वैदेशिक रोजगारमा गएका युवाद्वारा विप्रेषण मार्फत राष्ट्रिय अर्थतन्त्र मजबुत बनेको छ।

देशका कर्णधार र राष्ट्र सेवक मानिने युवा पुस्ताले राष्ट्रको सामाजिक क्षेत्रमा पनि विशेष योगदान पुर्याएका छन् । विद्यमान समाजमा चलिआएका विभिन्न विकृति, विसंगति, कुप्रथा, कुरीति तथा खराब सोचलाई युवाले जरैदेखि उन्मुलन गर्ने प्रयास गरेका छन् । जुन एक अनुकरणीय कार्य समाजमा चेतना जगाउने समाजमा रहेका विकृति विसंगतिहरुलाई निर्मूल पार्ने एउटा काम युवाले गरेका छन्। सामाजिक जनजीवनको अध्ययन नेपालको भौगोलिक अवस्थाको अध्ययन गरी युवाले समतामूलक समाज, विकृतिरहित समाज निर्माणमा जोड दिएका छन्। विभिन्न विपद व्यवस्थापन तथा पुनर्स्थापनाका कार्यमा समेत युवा सक्रिय छन् ।

वर्तमान पुस्ताका युवा वर्ग राजनीतिक तथा राजनीतिक परिवर्तनका सम्वाहक युवाले देश विकासलाई बाधा पुर्याउने एकमात्र विषालु जहर भ्रष्टाचारको नियन्त्रण साथै यसको अन्त्यमा महत्त्वपूर्ण योगदान दिएका छन्। राष्ट्रको परिवर्तन भ्रष्टाचारको नियन्त्रणका लागि राष्ट्रका युवाद्वारा विसं २०८२ भाद्र २३ र २४ गते सशक्तपूर्ण जिन्दगी आन्दोलनको नेतृत्व गरे । यो युवाद्वारा नेपाल र नेपालीको राजनीतिक परिवर्तनका लागि भएको एक विशेष कार्यको उदाहरण हो। जसको फलस्वरूप देशमा निर्वाचन भई नयाँ सरकार बन्यो, जुन युवा वर्गले भरिपूर्ण छ । नेपाली युवाले नेपालको भ्रष्टाचारलाई अन्त्य गर्नका लागि दिएको उक्त कार्य प्रशंसनीय छ । युवा वर्गले देशमा सुशासन, लोकतन्त्र, पारदर्शिता, जवाफदेहिता जागृत गर्न महत्वपूर्ण योगदान दिएका छन् ।

आजको युग विज्ञान र प्रविधिको युग हो । एक्काइसौँ शताब्दीमा आइपुग्दा विज्ञान र प्रविधिले धेरै फड्को मारिसक्यो । विभिन्न राष्ट्रले आफ्नो देशबाट अन्तरिक्षमा यान पठाउने कार्य गरिसके। नेपाली युवा वर्गले पनि देश परिवर्तन र राष्ट्र निर्माणका लागि विज्ञान प्रविधिको क्षेत्रमा योगदान दिनु र विज्ञान प्रविधिलाई चलायमान बनाउनु आजको आवश्यकता हो।

 

युवा वर्ग देशका भविष्यका कर्णधार हुन्, भन्ने भनाइ छ । वर्तमान युवाबाट भोलिको देशको मुहार फेरिन्छ भन्ने आशा राख्नलाई राज्यले विशेष लगानी र ध्यान दिनुपर्छ । वर्तमान युवा पुस्ता देशको भविष्यवाणी हुन् । युवा जुनसुकै बेला जस्तो परिस्थितिमा पनि अग्रपंक्तिमा खटिन सक्छन्, जोसिलो र साहसिक हुन्छन् तर विडम्बना युवालाई परिचालन एवं चलायमान बनाउनका निम्ति सरकारले कम प्रयास गरिरहेको छ ।

युवा वर्गको सर्वाङ्गिण विकास गर्न राज्य र सरकारको महत्त्वपूर्ण योगदान रहन्छ देशप्रेमको भावना र देशलाई समृद्ध बनाउने हुटहुटी भएतापनि देशमा रहेको रोजगारको अभाव गुणस्तरीय शिक्षाको अभावले आज दैनिक करिब १५०० देखि २००० र वर्ष वर्षमै लाखौं युवा जनशक्ति विदेशिन बाध्य भएका छन्। विदेश पलायन भएर अरुको देशमा रगत पसिना बगाउन बाध्य भएका छन्। नेपालको राजनीतिक अस्थिरता गुणस्तरीय शिक्षाको अभाव काममा ढिलासुस्ती रोजगारीका क्षेत्रको अभाव स्वरोजगारका माध्यम नहुनाले गर्दा नेपाली युवा वैदेशिक यात्रा तय गर्न बाध्य छन् 



यसका लागि राज्यको र सरकारको विशेष ध्यान जान जरुरी छ। राज्यले युवाका लागि हक अधिकारको त सुनिश्चित गरेको छ तर कार्यान्वयन हुन सकेको छैन। यसको सफल कार्यान्वयन गर्नु राज्यको भूमिका हो। देशमै गुणस्तरीय शिक्षा, रोजगारीका क्षेत्र सञ्चालन गरी स्रोत साधनको उचित परिचालन गर्नुपर्दछ तब मात्र भविष्यमा युवा वर्गबाट देश र राष्ट्र परिवर्तनको आशालाई जीवन्त राख्न सकिन्छ । युवा राष्ट्रका आशावादी र अग्रणी सदस्य हुन् ।

अन्त्यमा युवा वर्गले राष्ट्र निर्माणका लागि जोसिलो कदम चाल्न सक्छन् ।  युवा जागे  सिङ्गो राष्ट्र जाग्छ, युवा लागे सम्पूर्ण जनता लागिपर्छन् । युवाले देशको मुहार फेर्न सक्छन् युवा नै देश परिवर्तन गर्न एक बलियो हतियार हो। युवाका मनोइच्छा, मनोकामना पूरा गर्नु राज्यको प्रमुख दायित्व हो ।  युवाले देश परिवर्तनको लागि र भावी सन्ततिको लागि योगदान दिन सक्छन् । युवाले अन्धकार हटाई उज्यालोको ज्योति छर्न सक्छन्  । युवाले राष्ट्रलाई विकसित, सभ्य समृद्ध, राष्ट्र बनाउन सहयोग गर्छन् ।

युवा हाँस्य देश हाँस्छ युवा बाचे देश बाँच्छ। युवाले निस्पक्ष रुपमा कुनै स्वार्थको होडबाजी नगरी देश परिवर्तनको बाटोमा लगेमा समृद्ध नेपाल सुखी नेपालीको सपनालाई साकार पार्न सक्छ। 


मनिषा खत्री

कक्षाः १०ए

सम्पादकीयः नियमित अतिरिक्त कृयाकलाप अन्तरगत विद्यालयले आयोजना गरेको राष्ट्र निर्माणमा युवाको भूमिका शिर्षक निबन्ध लेखन प्रतियोगिता २०८३ मा प्रथम स्थान हाँसिल गर्न सफल निबन्ध


 

Post a Comment

0 Comments