राष्ट्र निर्माणमा युवाको भूमिका



हिमालको छातीमा उभिएर आँधीसँग जुध्ने तागत छ

युवाको पाखुरीमा यो देशको मुहार फेर्ने आँट छ।

नरोकियोस् यो पाइला नझुकोस् यो शिर कतै

युवाकै रगत र पसिनामा यो देशको भविष्य छ 

जहाँ सोच त्यहाँ बाटो, जहाँ युवा त्यहाँ युगान्तकारी रूपान्तरण राष्ट्र केवल नक्सामा कोरिएको सिमाना भूगोलको माटो वा माटो र ढुङ्गाको नरिश पुञ्ज मात्र होइन यो त नागरिकहरूको सामूहिक चेतना, श्रम, निष्ठा र सपनाहरूको जीवन्त स्वरूप हो। यही जीवन्त स्वरूपलाई सुन्दर आकृति दिने, तिखार्ने र युगानुकूल परिवर्तनको दिशातिर डोर्याउने सम्बाहक एवम् प्राणवायु नै  युवा हो। रुख बुढो भएपछि मर्छ, तर पालुवा पलाएर वन जोगिन्छ। भनेझैँ पुरानो पुस्ताको अनुभवलाई शिरोधार्य गर्दै नयाँ पुस्तालाई अदम्य उत्साह र ऊर्जाको संगमबाट नै राष्ट्रको नवजागरण सम्भव छ। युवा शक्ति भन्नाले जलविद्युतको अनन्त प्रवाह हो । जसलाई समयमै सही कुलो र नहरमा हाल्न सके सम्पूर्ण राष्ट्रलाई उज्यालो दिन्छ। तर दिशाहीन र अपेक्षित छाडिदिए। बाढी बनेर सभ्यता नै विनाश निम्त्याउँछ त्यसैले राष्ट्र निर्माणको महायज्ञमा युवा पुस्ताको उपस्थिति ऐच्छिक विषयमात्र नभएर एक महत्वपूर्ण पूर्वाधार हो।

राष्ट्र भनेको केवल भौतिक संरचना ठूलाठूला भवन सडकहरूका सञ्जाल खडा गर्नु मात्र होइन। यो त सामाजिक न्याय आर्थिक स्वावलम्बन संस्कृति जगेर्ना बौद्धिक जागरण र नैतिक सबलीकरणको एकीकृत एवं निरन्तर यात्राको लहराहरुको अग्रपंक्तिमा युवाहरूकै बलिदानी पसिना र दूरदर्शिता कोरिएको पाइन्छ। आकाशको फल आँखा तरी मर भनेझैँ अरुले गरिदेलान् र देश बन्ला भनेर पर्खनु वा अरुलाई दोसारो दिएर बसिरहनु युवाको चरित्र होइन। कागले कान लग्यो भन्दैमा कागको पछि दौडिने सस्तो लोकप्रियतातर्फ आकर्षित हुनुभन्दा बौद्धिक विवेकशील र रचनात्मक तवरले अघि बढ्नु आजको आवश्यकता हो । पृथ्वीनारायण शाहको एकीकरण अभियानदेखि लिएर विभिन्न कालखण्डका प्रजातान्त्रिक आन्दोलनहरूसम्म युवाहरूकै सामर्थ्यले देशलाई नयाँ मोड दिएको इतिहास साक्षी छ। युवासँग हिमाल हल्लाउने हिम्मत, चट्टान फोर्ने आँट र नदीको बाह फर्काउने ताकत हुन्छ। तर विडम्बनाको कुरा आज हाम्रा ऊर्जाशील र प्रतिभा सम्पन्न युवाहरू आफ्नो घैँटोमा घाम नलगार्इ परायको मरूभूमि मलजल गर्न बाध्य भइरहेका छन् । स्वदेशमा सम्भमवनाको खडेरी, भ्रष्टाचारको सञ्जाल र राजनीतिक अस्थिरताको कारण लाखौं युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लाइनमा उभिएर बाहिरिन बाध्य भएका छन्।

युवा पिढी सबैभन्दा जाँगरिला नागरिक हुन । विकास, सिर्जना र सम्भावनाका अजश्र स्रोत युवा वर्गप्रति हरेकको आशा र भरोसा हुने गर्दछ । युवा जोस र होसको संयोजन भएमा देशले चाँडै काँचुली फेर्न सक्छ । राष्ट्र निर्माणमा युवा वर्गका दूरदर्शी योजनाले राजमार्गको काम गर्दछ । प्रत्येक देशमा ठूलाठूला राजनीतिक परिवर्तनका सम्वाहक युवा वर्ग नै हुन्। काम गर्ने कालु मकै खाने भालु भनेझैँ स्वदेशी माटोमा पसिना बगाउने अनुकूल वातावरण नहुँदा युवाप्रतिभा र श्रमको पलायन भइरहेको छ। यदि युवा शक्तिलाई केवल राजनीतिक झण्डा बोक्ने क्याडर वा चुनाव जित्ने भोट बैंकमा मात्र सीमित राखियो भने राष्ट्र निर्माणको सपना बालुवामा पानी हाले जस्तै व्यर्थ हुनेछ। युवाहरू त नीति निर्माणका साझेदार, प्रविधिका अभिन्न कारक र समृद्धिका सम्भाहक हुन्। राष्ट्र निर्माणको बृहत लक्ष्य हासिल गर्नका लागि युवा पुस्ताले विभिन्न क्षेत्रहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ । उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भन्ने देवकोटाको भनाइले हामीलाई आफ्ना भावनालाई आत्मसात गर्दै युवाहरुले परम्परागत रोजगारीको पर्खाइमा नबसी आधुनिक कृषि, पर्यटन, प्रविधि र स्थानीय उद्योगहरूमा नवप्रवर्तन ल्याउनुपर्छ । उद्यमशीलताको विकास भएको हाम्रो देशलाई परनिर्भरताबाट जोगाउनु युवाको प्राथमिकता हो ।

राष्ट्र निर्माणमा सबै युवाले हातेमालो गरं, समृद्द नेपाल र सुखी नेपालीको सपना साकार पारं । 

 

 

सोनिका दहाल

कक्षाः ९ए

सम्पादकीयः नियमित अतिरिक्त कृयाकलाप अन्तरगत विद्यालयले आयोजना गरेको राष्ट्र निर्माणमा युवाको भूमिका शिर्षक निबन्ध लेखन प्रतियोगिता २०८३ मा द्वितीय स्थान हाँसिल गर्न सफल निबन्ध

 

Post a Comment

0 Comments