असफलतापछिको सफल लक्ष

 



असफलतापछिको सफल लक्ष्य तय गर्नु भनेको आफ्नो जीवनको नयाँ अध्याय लेख्नु हो। विगतमा जे भयो, त्यसलाई बदल्न सकिँदैन, तर वर्तमानमा सही निर्णय लिएर भविष्यलाई अवश्य पनि सुन्दर र सफल बनाउन सकिन्छ। असफलताले हामीलाई कमजोर बनाउन आउँदैन, यसले त हामीभित्र लुकेको वास्तविक शक्ति र दृढतालाई बाहिर ल्याउने काम गर्दछ। यदि तपाईँ हालसालै कुनै असफलताबाट गुज्रिरहनु भएको छ भने निराश नहुनुहोस्। लड्नु ठूलो कुरा होइन, लडेर पनि पुनः उठ्नु र अझ बढी शक्ति र समझदारीका साथ अगाडि बढ्नु नै वास्तविक जीवन हो। आफ्ना गल्तीहरूबाट पाठ सिक्नुहोस्, स्पष्ट र व्यावहारिक 'SMART' लक्ष्य बनाउनुहोस्, र निरन्तर कडा परिश्रममा जुट्नुहोस्। याद राख्नुहोस्, धैर्य र सही प्रयासको मिलन नै सफलताको अचुक सूत्र हो। ढिलो वा चाँडो, सफलता तपाईँको कदम चुम्न बाध्य हुनेछ। असफलता जीवनको अन्त्य नभएर सफलताको एउटा महत्वपूर्ण पाठ र मार्गदर्शक खुड्किलो हो। संसारका हरेक ठूला सफलताहरूका पछाडि अनगिन्ती असफलताका कथाहरू लुकेका हुन्छन्। जब हामी कुनै काममा असफल हुन्छौँ, तब मात्र हामीलाई आफ्ना कमजोरीहरू, योजनाका त्रुटिहरू र कार्यक्षमताको सीमितताका बारेमा वास्तविक ज्ञान हुन्छ। त्यसैले, असफलतापछि नयाँ र सफल लक्ष्य निर्धारण गर्नका लागि सबैभन्दा पहिले विगतको निष्पक्ष आत्मसमीक्षा गर्नुपर्छ। आफू कहाँ, किन र कसरी चुकेँ भन्ने कुराको निष्पक्ष मूल्याङ्कन गरेर गल्तीहरूलाई सुधारको अवसरका रूपमा स्वीकार गर्नुपर्छ। असफलताको निराशाबाट बाहिर निस्केर नयाँ लक्ष्य तय गर्दा आफ्नो वास्तविक रुचि, भित्री क्षमता र बजारको मागलाई ध्यानमा राख्नुपर्छ। अरूको देखासिखी वा दबाबमा परेर भन्दा आफ्नो रुचि, दक्षता र लगाव भएको क्षेत्र छनोट गर्दा सफलताको सम्भावना बढी हुन्छ। नयाँ लक्ष्य निर्धारण गर्दा त्यो विशिष्ट, मापनयोग्य, प्राप्य र निश्चित समयसीमा भित्र पूरा हुने (SMART) हुनुपर्छ। एकैपटक ठूलो सफलता खोज्नुको सट्टा आफ्नो मुख्य लक्ष्यलाई साना-साना दैनिक वा साप्ताहिक कार्ययोजनामा विभाजन गर्नुपर्छ ।

असफलता अँत्य होइन 

सफलताको सुरूवात हो ।

(हालै विमोचन गरिएको, हनुमन्तेश्वर माध्यमिक विद्यालय (नमुना) कक्षा १० का छात्र जङ्गेल्वु शेर्पाद्वारा लिखित असफलतापछिको सफल लक्ष पुस्तकको अंश)





हनुमन्तेश्वर मा.वि. को इतिहास कहिले उत्कृष्ट नतिजाले विभूषित हुन्छ त कहिले उत्कृष्ट प्रतिभा पहिचानको दृष्टान्तले । त्यस्तै यसपटक कक्षा १० मा अध्ययनरत भाइ जङ्गेल्बु शेर्पाले यति सानै उमेरमा फरक बिम्बमा आफूलाई प्रतिबिम्बित गर्दा विद्यालय परिवारलाई विल्कुलै नयाँ इतिहासको पृथकताबोध भएको छ । यति कलिलो उमेरमा असफलतापछिको सफल लक्ष्य शीर्षकको आत्मानुभूति मिश्रित अभिप्रेरणात्मक आत्मवृतान्त पुस्तक त्यसमा पनि स्पष्ट र सरल भाषा आफ्नो मातृभाषापछिको दोस्रो भाषा नेपाली भाषामा लेखेर विमोचन गर्नु सामान्यताभित्रको कोहिनूरमा अभीसीप्त विशिष्टता हो । भाइको यो अथक प्रयास र अटुट साधना अझै गन्तव्योन्मुख र आशातीत बन्दै जाओस् मेरो व्यक्तिगत तर्फबाट र समग्र विद्यालय परिवारको तर्फबाट भाइलाई बधाई तथा उत्तरोत्तर प्रगतिकोसमेत हार्दिक शुभकामना

 

Post a Comment

0 Comments