नेपाल दक्षिण एसियामा अवस्थित भूपरिवेष्ठित मुलुक हो। नेपाल २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । नेपालले विश्वको कुल भूभागको ०.०३ प्रतिशत, एसिया महादेशको ०.३ प्रतिशत र दक्षिण एसियाको २.८२ प्रतिशत भूभाग ओगटेको छ । नेपाल एसियाका दुई विशाल मुलुक भारत र चीनको बीचमा पर्दछ । यो समुद्र/बङ्गालको खाडीदेखि करिब ११२७ कि.मि. टाढा छ । नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. अर्थात् ५६,८२७ वर्गमाइल छ । नेपालको पूर्व–पश्चिमलम्बाइ ८८५ कि.मि. र उत्तर–दक्षिण चौडाइ सरदर १९३ कि.मि. छ । यसको दक्षिणमा भारतको बिहार र उत्तरप्रदेश राज्य, पश्चिममा भारतको उत्तराखण्ड राज्य, पूर्वमा पश्चिम बङ्गाल, सिक्किम राज्य र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । नेपालको प्रामाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशङ्कर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी निर्धारण गरिएको छ । नेपालको समय ग्रिनविच मानक समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ । यो समय वि.सं. २०४२ साल वैशाख १ गतेदेखि लागू गरिएको हो। विश्वका ८,००० मिटरभन्दा अग्ला १४ चुचुरामध्ये नेपालमा आठओटा पर्दछन्। ६,००० मिटर र सोभन्दा अग्ला चुचुरा १,३०० भन्दा बढी छन्। मुस्ताङ इलाकामा मात्र यस्ता लगभग ३०१ चुचुराहरू रहेका छन्। नेपालमा हिमालयका साथसाथै कोशी, गण्डकी, कर्णालीजस्ता ठुला नदीहरू र रारा, फेवा, गोसाइँकुण्डजस्ता सुन्दर तालहरू छन्। भूस्वरूपको विविधताका साथै जलवायु र मौसमको अत्यधिक विभिन्नताले गर्दा उष्ण , अर्धोष्ण , सूक्ष्म तापीय, टाइगा र टुन्ड्रा प्रकारका जलवायु नेपालमा पाइन्छन्।
नेपालको भौगोलिक भौतिक स्वरूपमा उचाइगत विविधताले भौगोलिक विभिन्नताको अवस्था सिर्जना गरको छ । विश्व मानचित्रमा नेपाल सगरमाथाको देश, गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश, सीता जन्मेको देश र विशेष किसिमको झन्डा भएको देशको रूपमा समेत परिचित छ ।
नेपाल परिचय परिमार्जित बाह्रौः संस्करण : २०८१ असारबाट
तेह्रौःपढ्नको लागि यहाँ क्लिक गर्नुहोस्
0 Comments