नेपालको राजनीतिक विभाजन (सङ्घ, प्रदेश)


१. सङ्घ

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था छ । सङ्घीय संरचनाको सबैभन्दा माथिल्लो एकाइको रूपमा रहने सङ्घीय तहलाई सङ्घका रूपमा परिभाषित गरिएको छ । सङ्घीय सरकारलाई नेपाल सरकारको नामले पनि चिनिन्छ । नेपालको संविधानले अनुसूची–५ मा सङ्घको अधिकारको सूचीको व्यवस्था गरेको छ । त्यस्तो अधिकारको प्रयोग संविधान र सङ्घीय कानुनबमोजिम हुनेछ । त्यसैगरी अनुसूची–७ मा भएको साझा अधिकारको सूची र अनुसूची–९ बमोजिमको सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीको प्रयोग पनि सङ्घमार्फत हुने गर्दछ ।  साथै, अवशिष्ट अधिकारको प्रयोग सङ्घीय सरकारले गर्ने व्यवस्था गरेको छ ।

२. प्रदेश

संविधानबमोजिम सङ्घीय एकाइमा विभाजन गरिएको नेपालको सङ्घीय एकाइको क्षेत्र र स्वरूपलाई प्रदेशका रूपमा परिभाषित गरिएको छ । नेपालको संविधानको अनुसूची–४ ले ७ प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरूको बारेमा स्पष्ट गरेको छ । जसअनुसार सात प्रदेशलाई निम्नबमोजिम सङ्क्षिप्त चर्चा गरिएको छ :

कोशी प्रदेश

यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बंगाल र सिक्किम राज्य, दक्षिणतर्फ बिहार राज्य, उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत तथा पश्चिमतर्फ मधेश प्रदेश र बागमती प्रदेश पर्दछन् । कोशी प्रदेशमा ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ र सुनसरी गरी १४ जिल्ला रहेका छन् । यस प्रदेशको ठुलो जिल्ला ताप्लेजुङ (३,६४६ वर्ग कि.मि.) र सानो जिल्ला तेह्रथुम (६७९ वर्ग कि.मि.) रहेका छन् । हाल यस प्रदेशको राजधानी विराटनगर (मोरङ) रहेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदेशमा ११,९१,५५६ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या ४९,६१,४१२ (पुरुष २४,१७,३२८ र महिला २५,४४,०८४ रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा ब्राह्मण, क्षेत्री, राई, लिम्बू, थारू, लेप्चा, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशीलगायतका जातिहरूको बसोबास रहेको छ भने नेपाली, मैथिली, किराँती, तामाङ, लिम्बू, गुरुङ, लेप्चा, मगर र थारू भाषा मुख्य रूपमा बोलिन्छन् ।

मधेश प्रदेश

यस प्रदेशको पूर्वतर्फ कोशी प्रदेश, दक्षिणतर्फ भारत, उत्तरतर्फ कोशी प्रदेश र बागमती प्रदेश र पश्चिमतर्फ बागमती प्रदेश रहेका छन् । मधेश प्रदेशमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्ला रहेका छन् । यस प्रदेशको ठुलो जिल्ला सप्तरी (१,३६३ वर्ग कि.मि.) र सानो जिल्ला महोत्तरी (१,००२ वर्ग कि.मि.) हुन् । यस प्रदेशको राजधानी जनकपुर (धनुषा) रहेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदेशमा ११,५६,७१५ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या ६१,१४,६०० (पुरुष ३०,६५,७५१ र महिला ३०,४८,८४९ रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा यादव, गुप्ता, दास, थारू, राजवंशी, मुसलमानलगायतका जातिहरूको बसोबास रहेको छ भने मैथिली, बज्जिका, अवधी, उर्दु, हिन्दी, थारू र नेपाली आदि भाषा बोलिन्छन् ।

बागमती प्रदेश

यस प्रदेशको पूर्वतर्फ कोशी प्रदेश, पश्चिमतर्फ गण्डकी प्रदेश, उत्तरमा चीन र दक्षिणतर्फ मधेश प्रदेश र भारत रहेका छन् । बागमती प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौँ गरी १३ जिल्ला रहेका छन् । यस प्रदेशको ठुलो जिल्ला सिन्धुपाल्चोक (२,५४२ वर्ग कि.मि.) र सानो जिल्ला भक्तपुर (११९ वर्ग कि.मि.) रहेका छन् । यस प्रदेशको राजधानी हेटौँडा (मकवानपुर) रहेको छ ।  राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदेशमा १५,७०,९२७ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या ६१,१६,८६६ (पुरुष ३०,४८,६८४ र महिला ३०,६८,१८२ रहेको छ । 

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा तामाङ, ब्राह्मण, क्षेत्री, नेवारलगायतका जातिहरूको बसोबास रहेको छ भने नेपाली, नेपाल, तामाङ भाषा मुख्य रूपमा बोलिन्छन् ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको पूर्वतर्फ बागमती प्रदेश, पश्चिमतर्फ कर्णाली प्रदेश र लुम्बिनी प्रदेश, उत्तरमा चीन र दक्षिणतर्फ लुम्बिनी प्रदेश र भारतको बिहार राज्यसँग सिमाना जोडिएको छ । गण्डकी प्रदेशमा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गरी ११ जिल्ला रहेका छन् । यस प्रदेशको ठुलो जिल्ला गोर्खा (३,६१० वर्ग कि.मि.) र सानो जिल्ला पर्वत (४९४ वर्ग कि.मि.) रहेका छन् । यस प्रदेशको राजधानी पोखरा (कास्की) रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदेशमा ६,६२,४८० परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या २४,६६,४२७ (पुरुष ११,७०,८३३ र महिला १२,९५,५९४ रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा ब्राह्मण, क्षेत्री, गुरुङ, मगरलगायतका जातिहरूको बसोबास रहेको छ भने नेपाली, गुरुङ, मगर भाषा मुख्य रूपमा बोलिन्छन् ।

लुम्बिनी प्रदेश

यस प्रदेशको पूर्वतर्फ गण्डकी प्रदेश, पश्चिमतर्फ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश उत्तरतर्फ गण्डकी प्रदेश र कर्णाली प्रदेश र दक्षिणतर्फ भारत पर्दछ । लुम्बिनी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्युठान, दाङ, बाँके र बर्दिया गरी १२ जिल्ला रहेका छन् । यस प्रदेशको ठुलो जिल्ला दाङ (२,९५५ वर्ग कि.मि.) र सानो जिल्ला नवलपरासी बर्दघाट सुस्तापश्चिम (६३४.८८ वर्ग कि.मि.) रहेका छन् । यस प्रदेशको राजधानी भालुवाङ (दाङ) रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदेशमा ११,४१,९०२ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या ५१,२२,०७८ (पुरुष २४,५४,४०८ र महिला २६,६७,६७० रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा ब्राह्मण, क्षेत्री, मगर, थारू, तामाङ, नेपाल, मुसलमानलगायतका जातिहरूको बसोबास छ भने नेपाली, थारू, अवधि, भोजपुरी, उर्दु, मगर भाषा मुख्य रूपमा बोलिन्छन् ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको पूर्वतर्फ गण्डकी प्रदेश र लुम्बिनी पर्दछ । पश्चिमतर्फ सुदूरपश्चिम प्रदेश र चीन, उत्तरतर्फ चीन र दक्षिणतर्फ लुम्बिनी, सुदूरपश्चिम प्रदेश रहेको छ । कर्णाली प्रदेशमा रुकुम (पश्चिम), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्ला रहेका छन् । यस प्रदेशको ठुलो जिल्ला डोल्पा (७,८८९ वर्ग कि.मि.) र सानो जिल्ला रुकुम पश्चिम (१,२१३.४९ वर्ग कि.मि.) रहेका छन् । यस प्रदेशको राजधानी वीरेन्द्रनगरको सुर्खेतमा रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदेशमा ३,६६,२५५ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या १६,८८,४१२ (पुरुष ८,२३,७६१ र महिला ८,६४,६५१ (रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा ब्राह्मण, ठकुरी, क्षेत्री, शेर्पा, गुरुङ, मगरलगायतका जातिहरूको बसोबास रहेको छ भने नेपाली, गुरुङ, मगर भाषा मुख्य रूपमा बोलिन्छन् ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको पूर्वतर्फ कर्णाली प्रदेश र लुम्बिनी प्रदेश, पश्चिमतर्फ भारत, उत्तरतर्फ कर्णाली प्रदेश र चीन तथा दक्षिणतर्फ भारत पर्दछ । सुदूरपश्चिम प्रदेशमा बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र कैलाली गरी ९ जिल्ला रहेका छन् । यस प्रदेशको ठुलो जिल्ला बझाङ (३,४२२ वर्ग कि.मि.) र सानो जिल्ला बैतडी (१,५१९ वर्ग कि.मि.) रहेका छन् । यस प्रदेशको राजधानी गोदावरी (कैलाली) रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदेशमा ५,७७,१०२ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या २६,९४,७८३ (पुरुष १२,७२,७८६ र महिला १४,२१,९९७ रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा ब्राह्मण, क्षेत्री, ठकुरी, थारू जातिहरूको बसोबास रहेको छ भने डोटेली, खस, थारू भाषा मुख्य रूपमा बोलिन्छन् ।

Post a Comment

0 Comments